सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नयाँ बनेको सत्ता समीकरणलाई लिएर अहिले नै हौसिने अवस्था नरहेको बताएका छन् । असार २१ गते राजधानीमा जी पी काेईराला लेबर फाउन्डेसनले आयोजना गरेको "क्रान्ति र शान्ति नायक गिरिजाप्रसाद काेइराला" बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले संविधानलाई सबैले मान्नुपर्ने समेत बताए । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
कोइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठुला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए । नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका सङ्कल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने बताए ।
कार्यक्रममा काङ्ग्रेस सहमहामन्त्री जीवन परियार, संबिधान सभा सदस्य पुष्कर आचार्य, कांग्रेस नेता लक्ष्मण बस्नेत, सिडेनका अध्यक्ष ई. लक्ष्मण केसी, फाउन्डेसनकी अध्यक्ष सुधा दाहाल लगायतले बोलेका थिए।