सोसल मिडिया
युनिकोड
संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने नेपाली काङ्ग्रेसले सस्थागत निर्णय गरेको छ। आज बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
त्यस्तै, नेकपा एमालेसँग भएको राष्ट्रिय सहमितको सरका बनाउने सहमतिलाई पार्टी बैठकले अनुमोदन पनि गरेको छ।
पहिलोपटक एमाले र दोस्रोपटक नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी सहमति जुटेको कांग्रेसले बताएको छ।
‘नेपाली कांग्रेस र नेकपा एमाले बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय के।पी। शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ कांग्रेसले भनेको छ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते संसदमा विश्वासको मत लिने कार्यक्रम तय गरेकोमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। साथै राष्ट्रपतिलाई पनि सोही अनुरूप अनुरोध गर्ने काङ्ग्रेसको भनाई छ।