सोसल मिडिया
युनिकोड
कांग्रेससँग नयाँ सत्ता समीकरण गरेको नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने र पार्टी अध्यक्ष केपी ओली अब प्रधानमन्त्री बन्ने घोषणा गरेको छ।
आज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यवहारिक लगायत सबै कारणहरूबाट धारा ७६ (२) बमोजिम नै सरकार बन्ने स्पष्ट पारेको हो।
‘यसका व्यवहारिक, सर्वोच्च अदालतका नजिरहरू, राजनीतिक, संवैधानिक सबै कारणले गर्दा पनि ७६(२) बमोजिम नै सरकार बन्छ। पहिलो कुरा, हाम्रा अभ्यासहरू त्यही नै छन्,’ बैठकपछि पार्टी प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुई ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर सरकार निर्माण गर्ने भनिसकेपछि त्यो आधारबाट पनि ७६(२) बमोजिम अघि बढ्न सक्छौँ।’
उनले कोसी र गण्डकी प्रदेशको नजिरबारे व्याख्या गर्दै केन्द्रमा पनि त्यस्तै हुने पनि बताए। ‘सर्वोच्चका केही नजिरहरू पनि छन्। अहिले गण्डकी प्रदेश सरकार १६८ (२) बमोजिमको हो। पहिलो खगराज अधिकारी माननीयज्यूको सरकार १६८ (२) बमोजिमको थियो,’ बर्तौलाले भने, ‘अहिले पनि १६८ (२) बमोजिमकै छ। त्यस्तै, कोसीमा १६८ (५) बमोजिम भयो, पछाडि अहिले त्यही धारा बमोजिम बन्यो।’
प्रधानमन्त्री प्रचण्ड भने धारा ३ मा पुर्याएर ओलीलाई प्रधानमन्त्री बन्न नदिने दाउमा छन्।