अहिल्यै तुरुन्तै ठाउँको ठाउँ राजीनामा गर्न प्रचण्डलाई एमालेको फरमान

आइतबार, असार २३, २०८१

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिल्यै तुरुन्तै राजीनामा दिन फरमान जारी गरेको छ। आइतबार बसेको पार्टी संसदीय दलको बैठकले अहिलेको सरकार अल्पमतमा परेको र कुनै निर्णय गर्ने अधिकार नभएको भन्दै तत्काल ठाउँ खाली गर्न भनेको हो। 

एमालेले आफ्नो पहिले माग नै प्रधानमन्त्री आजै राजीनामा दिनुपर्छ भन्ने रहेको बताएको छ । उसले सोही बमोजिमको निर्णय पनि गरेको छ। प्रधानमन्त्री तुरून्तै  राजीनामा नदिए असार २८ गते कांग्रेस र एमालेले संयुक्त रूपमा देखाईदिने प्रमुख सचेतक महेश बर्तौलाले बताए। 

प्राकृतिक विपत्तिमा देश रहेको भन्दै अल्पमतमा परेको प्रधानमन्त्री एक मिनेट पनि बस्न नहुने एमालेको ठहर छ। ‘आज एक मिनेट पनि देशका लागि महत्त्वपूर्ण हो। देशलाई के का लागि ७ दिन कुराइरहनुभएको छ? जसरी उहाँले अल्झाउन खोज्नुभएको छ, यो अनुचित हो,’ बर्तौलाले भने।

साथै, आजको बैठकले नेकपा एमाले र नेपाली कांग्रेसबीच बन्न लागेको राष्ट्रिय सरकारलाई स्वागत गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्