सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नमिठो धोखा दिएको भन्दै आफ्ना माननीयलाई साविती बयान दिएका छन् ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा राजनीतिक घटनाक्रमको बेलिबिस्तार लगाउदै ओलीले आफूलाई झुक्याएर कांग्रेससँग लगनगाँठो कसेको बताएका हुन्।
उनले आफूले ओलीले चिने पनि सच्चिएका होलान् भनेर विश्वास गर्दा धोका खाएको सुनाए। दाहालले संसदीय दलको बैठकम भने, ‘केपी ओलीलाई नबुझेका त थिएनौ। हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्यो। मान्छे हो भन्ठाने तर यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’
दलको बैठकमा दाहालले असार १७ गते ओलीसँग भएको छलफलको विषयबस्तु जानकारी गराएका थिए। कांग्रेससँग सहमति हुन लागेको थाहा पाएपछि ओलीलाई यतैबाट प्रधानमन्त्री बन्न आग्रह गरे पनि त्यस्तो सहमति नभएको दाबी आफू समक्ष गरेको ब्रिफिङ गरे। ओलीले एक किसिमको कसमै खाएको उनले दाबी गरे।
दाहालको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘१८ गते बिहान भेट हुँदा पनि केही भएको छैन भने। मैले प्रधानमन्त्री चाहिए लिनूस् यो खेल तुरुन्तै छोडिदिनूस् भनेको पनि थिएँ। तर केपीले केही हैन कि हैन भने। दुई घण्टा नेपाली कांग्रेसको भण्डाफोर गरे। त्यसपछि ०८४ सम्मसँगै जाने र पार्टी एकता गर्ने कुरा ओलीले नै गरेका थिए। धोका दिए।’
ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने बताएपछि आफू विश्वासका परेको तर शेरबहादुरसँग छड्के बुझ्दा सहमति भइसकेको पाईयो। दाहालले भने, ‘ओलीजीसँग उठेपछि शेरबहादुरलाई फोन गर्दा पो सबै सहमति भइसक्यो भन्छन्।’
प्रचण्डले बिहान छोरीले भनेपछि मात्र सहमति थाहा पाएको बैठकमा बताएका थिए। ओलीले यो हदको कर्म गर्लान् भन्ने नसोच्नाले यो सबै भएको उनले सुनाए।
मिठा कुरा गरेर काङ्ग्रेसलाई एकोहोरो गाली गरेपछि आफू फसेको प्रचण्डले सुनाएको बैठकमा सहभागी एक माननीयले बताए।