जसो जसो प्रचण्ड उसै उसै शालिक, मन चाँही राजीनामा तिरै

बुधबार, असार २६, २०८१

प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल राजीनामाको मनःस्थितिमा पुगिसकेका छन्।

संसदबाट आफूलाई बहुमत पुग्दैन भन्ने थाहा पाएका उनी विश्वासको मत लिनुको औचित्य छैन भन्ने निचोडमा छन्। तर, उनी तत्काल राजीनामा दिन पनि सकिरहेका छैनन्। कम्तीमा संघीय संसदमा प्रधानमन्त्रीको अवस्था छिनोछानो होस् भनेर उनी पर्खिरहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदबाट असार २८ गते विश्वासको मत लिँदै छन्। शीर्ष नेताको निर्देशनका कारण जम्कट्टेल सदनमा विश्वासको मत लिने बताउँदै आएका छन्। गत आइतबार केन्द्रीय पार्टी कार्यालयमा शीर्ष तहका नेताहरूसँगको छलफलका क्रममा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत फेस गर्न निर्देशन दिइएको थियो।

‘हाम्रो पक्षको अंकगणित बलियो छैन भन्ने थाहा छ। पार्टीले दिएको निर्देशन मान्नै पर्यो,’ जम्कट्टेलले हाँस्दै भने, ‘केन्द्रमा पनि प्रधानमन्त्रीज्यूले विश्वासको मतको फेस गर्दै हुनुहुन्छ। मलाई पनि यस्तै परिबन्ध आइपरेको छ। मत नपाए पनि प्रक्रियामा सहभागी हुनू भन्ने छ।’

मुख्यमन्त्री जम्कट्टेललाई चौथोपटक सदनमा विश्वासको मतको प्रस्ताव दर्ता गराउने चाहना छैन। यसअघि जस्तो सजिलै विश्वास प्राप्त नहुने भएकाले उनी सदनमा जानुभन्दा राजीनामा दिनु उचित देखिरहेका छन्। स्रोतका अनुसार, शीर्ष नेता सहमत भए उनी तत्काल राजीनामा दिने मनःस्थितिमा छन्।

ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनेपछि बागमती सरकार ढल्ने निश्चित छ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्