सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस र नेकपा एमालेको जुईनो गासिएको सरकार भोलि (शुक्रबार) नै बन्ने भएको छ। एमाले अध्यक्ष केपी ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने गरि तयारी गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी भइरहेको स्रोतले बतायो।
बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाईएको छ। प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ।
दाहालको पक्षमा बढीमा ६३ मत पर्ने संकेत छ। उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जनाबाहेक अन्य सांसदको समर्थन अहिलेसम्म खुलेको छैन्। प्रचण्डको पक्षमा एक चौथाइ पनि मत नपर्ने निश्चित छ।
कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा,जनमत लगायतले विश्वासको मत नदिने निर्णय नै गरिसकेका छन्।
यद्यपि विश्वासको मत लिने प्रतिनिधिसभाको बैठक कति लम्बिन्छ, त्यसले ओली प्रधानमन्त्री बन्ने समय निर्धारण गर्नसक्छ।
‘विश्वासको मतको कार्यक्रम दिउँसो २ देखि अढाई बजे (२ः३०) सम्म चल्नसक्छ,’ एमालेका एक नेताले भने। त्यसपछि लगत्तै संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी दिने एमालेको बुझाई छ।
‘राष्ट्रपतिज्युबाट नयाँ सरकारको आह्वान हुनासाथै दुई तिहाई बहुमतसहित दाबी प्रस्तुत गर्ने तयारी भइरहेको छ,’ एमालेका ती नेताले भने।
राष्ट्रपति पौडेलबाट भोलि दिउँसोभित्र मै नयाँ सरकारका लागि आह्वान हुनेमा एमाले–कांग्रेस विश्वस्त छन्। यस्तै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै सरकार आह्वान हुनेमा पनि दुबै पार्टी विश्वस्त छन्। त्यसपछि लगत्तै बहुमतसहित एमाले अध्यक्ष ओलीले सरकारको दाबी पेस गर्नेछन्।
त्यसका लागि कांग्रेस र एमालेले आ–आफ्ना सांसदको हस्ताक्षर संकलन गरिसकेका छन्। दुवै पार्टीका १६६ जना सांसद छन्। जुन २७५ सिटको प्रतिनिधिसभामा दुईतिहाई जुटाउन १७ सीट कम हो।
कांग्रेसले विपक्षी दलहरूसँग सरकारमा सामेल हुन आग्रह गरिरहेको छ। दुई तिहाईसहितको सरकार बनाउने दाबी गरिने भएको र ओलीलाई दुई तिहाईको प्रधानमन्त्री बनाउने तयारी हुँदैछ।