प्रचण्ड,रवि र माधवलाई पेल्ने, ओलीका पक्षमा दुई सय १० सांसद

शुक्रबार, असार २८, २०८१

नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता चलाउने तमसुकमा हस्ताक्षर गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सत्ता बाहिर बन्नुपर्ने चित्र अस्ति नै तयार भएको थियो। आज त्यो चित्रमा रंग भरेर प्रचण्डलाई साविककै स्थानमा पठाएर एमाले अध्यक्ष केपी ओली सिङ्गदरबार भित्रिने पक्का भएको छ। 

संविधान संशोधन आजको आयश्यकता भएकाले दुई तिहाई बहुमतसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने कांग्रेस र एमालेका नेताहरुले बताउने गरेका छन् । तर, केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा प्रचण्ड, रवि लामिछाने र माधव नेपाललाई भने ‘इन्ट्री’ नगराइने एमालेका नेताहरुको अनौपचारिक भनाइ छ ।

प्रचण्डलाई न देउवा न त ओली नै विश्वास गरेका छन्। उनलाई र उनले बोक्ने मुद्दालाई कैची लगाएर पेलेर जान कांग्रेस-एमाले तयार छन्। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेस र एमाले दुवै दलले सरकारमा ल्याउन चाहेका छैनन् । कांग्रेसका एक नेताका अनुसार सहकारी ठगीमा रवि दोषी हुने प्रमाण नै फेला परिसकेकाले उनको पार्टीलाई सरकारमा ल्याइने सम्भावना छैन ।

त्यस्तै, एमाले सचिवालयका एक नेताले भने, ‘रास्वपालाई सरकारमा ल्याउने हाम्रो चाहाना छैन, कांग्रेस–एमालेले यो कुरा बुझेका छौँ ।’

नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउनबाट रोक्ने पक्षमा ओली छन् । देउवा भने माधव नेपाललाई सरकारमा समेट्ने पक्षमा छन् । सूत्रहरुका अनुसार समाजवादी र उपेन्द्र यादवको जसपा नेपाललाई लगभग सरकारमा नल्याउने चाहना ओलीमा छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको मुड हेर्दा उनी ओली नेतृत्वको सरकारमा जाने पक्षमा छैनन् । 

ओली नेतृत्वको सरकारमा एमालेको ७८, कांग्रेस ८८, जनमत ६, जसपा अशोक पक्ष ७, नागरिक उन्मुक्ति ४ र लोसपा ४ सांसदसमेत १८८ जनाको सहभागिता रहने सम्भावना छ । यो भनेको दुई तिहाई बहुमतका लागि पर्याप्त हो ।

उपेन्द्र यादव पक्षले पनि सहयोग गरेमा ओलीलाई १९३ सांसदको समर्थन पुग्न सक्छ । यस्तै राप्रपाका १४ सांसदले पनि नयाँ सरकारलाई साथ दिएमा २०७ सांसद पुग्छन् । कांग्रेस–एमाले अहिले यही हिसाब गरिरहेका छन् ।

यसो गर्दा रास्वपा, माओवादी र समाजवादीको साथ नपाए पनि दुई तिहाई बहुमतको सरकार बन्न समस्या छैन । एमालेका एक नेताले भने, ‘२१० जति सांसद सहमतिको सरकारमा आउनुहुन्छ, २०७ जनाको त लिस्ट नै तयार छ ।’
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्