क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ: प्रधानमन्त्री

शुक्रबार, असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र रूपमा अगाडि बढेको बताएका हुन् । 

'ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,' प्रधानमन्त्री दाहालले भने ।

केही महिनामै ५ सय मेगावाट बिजुली थपिने पनि प्रधानमन्त्री दाहालले बताएका छन् । 'अब विद्युतमा पहुँच नभएको नागरिक बाँकी छैन । विद्युत उर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको छ भने केही महिनामै करिब ५ सय मेगावाट थप हुने चरणमा छ । जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत खरिद सम्झौता भइसकेको छ,' उनले भने ।

हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्