सोसल मिडिया
युनिकोड
शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि उनको सरकार ढल्यो। शुक्रबार नै एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेर बहादुर देउवाको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरे। उनको दाबी उपर राष्ट्रपतिले आईतबार कामकारबाही अगाडी बढाएर उनै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै सपथ खुवाउने भएका छन्।
आइतवार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय बाँडफाँटको मेलोमेसो लगभग सकेका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि छिनोफानो गरेका छन्।
प्रधानमन्त्री नियुक्तिपछि केपी शर्मा ओलीले आइतबार साँझ सपथग्रहण गरेसँगै मन्त्रीहरुको पनि सपथग्रहण गर्ने गृहकार्य छ । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति भएको छ । शेरबहादुर देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ- आफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेका छन् ।
कांग्रेसले रमेश लेखकलाई गृहमन्त्री बनाउने भएको छ भने एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने छन्। त्यस्तै कांग्रेसकी आरजु राणा परराष्ट्र मन्त्री बन्ने पक्का छ। उता ओलीले सूर्य थापालाई संचार मन्त्री बनाएर सरकारको प्रवक्ताको जिम्मा दिने टुंगो लागे सरह छ।
गृह र अर्थ,परराष्ट्र र सन्चार,उर्जा र भौतिक पुर्वाधार,सहरी विकास र पर्यटनलाई उच्च श्रेणीमा राखिएको छ । त्यसो गर्दा परराष्ट्र पाउनेले सन्चार छाड्नेछ भने ऊर्जा पाउनले भौतिक पूर्वाधार छाड्नेछ । सहरी विकास एउटाले पाउँदा अर्कोले ऊर्जा पाउनेछ ।
त्यस्तै स्वाथ्य र शिक्षा,उद्योग र कृषि,सामान्य प्रशासन र कानून, वन र भूमिसुधार,महिला बालिका र युवा खेलकुद, श्रम र रक्षामध्ये एक एक मन्त्रालय बाँड्ने मोडालिटीमा छलफल भइरहेको छ । यद्यपी केही मन्त्रालयको वर्गिकरण एक अर्कोमा फेरिने वार्तामा सहभागी नेताहरुले बताएका छन् ।
कांग्रेसबाट प्रकाशमान सिङ्गको नेतृत्वमा ओली सरकारमा जाने बताईएको छ। तर उनको मन्त्रालय टुंगो लागेको छैन।