सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीमा दाबी पेश गरेका एमाले अध्यक्ष आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका कांग्रेस-एमालेको दुई दलको समर्थनमा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी प्रस्ट गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री नियुक्ति प्रक्रिया आजै अघि बढेपनि शपथग्रहण भने सोमबार मात्रै हुने छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् । यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । उक्त जानकारी सङ्घीय संसद् सचिवालयले शुक्रबारै राष्ट्रपति कार्यालयमा पठाएको थियो ।