ओली संगै सपथ लिने १४ मन्त्रीको लाग्यो टुंगो, तीन जनाको नाम फाईनल हुँदै

सोमबार, असार ३१, २०८१

नेपाली कांग्रेसले संस्थापन पक्षका मन्त्रीहरूको नाम टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा नेताहरूसँगको छलफलपछि आफ्नो पक्षबाट मन्त्री बन्ने ६ जनाको नाम टुंगो लगाएका हुन्। 

स्रोतका अनुसार, कांग्रेसको भागमा परेका ९ मध्ये ६ जना मन्त्री आफ्नो पक्षबाट पठाउने देउवाको तयारी छ। जस अनुसार, प्रकाशमान सिंह, आरजु देउवा, रमेश लेखक, एन बहादुर शाही, अजय चौरसिया र दीपक खड्का मन्त्री बन्ने भएका छन्।

सिंहलाई उपप्रधानमन्त्री समेतको जिम्मेवारी दिएर कांग्रेसका मन्त्रीहरूको नेतृत्व गरेर सरकारमा पठाउन लागिएको एक नेताले जानकारी दिए। उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिनेछन्।

आरजुलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दैछन्।

सम्भवतः खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउनेछन्। बाँकी रहेका तीन वटा मन्त्रालयमा शेखर–गगन समूहका सांसदहरूको नाम मागिएको छ। 

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीकाे शपथ लिँदैछन्। त्यसैगरी मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको शपथ लिँदैछन्।

यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए। नयाँ मन्त्रीहरुको शपथ आजै हुँदैछ। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्