कृषि मन्त्रालयका आन्दोलित कर्मचारीले नयाँ मन्त्रीलाई मन्त्रालय छिर्नै नदिने

सोमबार, असार ३१, २०८१

झन्डै एक महिना यता देखि आन्दोलित कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका कर्मचारीले ओली सरकारका नवनियुक्त कृषि मन्त्री रामनाथ अधिकारीलाई मन्त्रालय प्रवेशमा रोक लगाउने भएका छन्। सपथपछि कार्यभार सम्हाल्न मन्त्रालय पुग्दा नपुग्दै मन्त्री अधिकारीको पहिलो गाँस मै ढुंगा लाग्ने भएको छ। 

संघ सरकारमा समायोजन भएर पुल दरबन्दीमा रहेका नेपाल कृषि सेवातर्फका कर्मचारी आन्दोलित भएका छन् । ६ वर्षदेखि वृत्ति विकास रोकिएको भन्दै उनीहरुले सिंहदरबमारमा कृषि मन्त्रालयभित्रै आन्दोलन थालेका हुन् ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको मूल ढोकामा नै धर्ना दिंदै आएका आन्दोलित कर्मचारीले चार बुँदे माग गरेका छन् ।

संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने उनीहरुको पहिलो माग छ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने अर्को माग छ ।

कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति गर्न भएको परमादेश कार्यान्वयन गर्नपनि माग गरिएको छ । यस्तै संविधान र कार्यविस्तृतीकरण प्रतिवेदनअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्न समेत उनीहरुले माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्