नेपाल सरकारका १६ सचिव घर जाने, क-कसको कहिले सकिँदैछ जागिर ? 

मंगलबार, साउन १, २०८१

२०८१ साउन देखि २०८२ साउन सम्ममा नेपाल सरकारका १६ जनाभन्दा बढी विशिष्ट श्रेणीका कर्मचारीले अवकाश पाउने भएका छन् । एकै आर्थिक वर्षमा यति धेरै विशिष्ट श्रेणीका कर्मचारीले अवकाश पाउने यो दुर्लभ संयोग हो। 

कायममुकाय मुख्यसचिव देखि विभिन्न मन्त्रालयका सचिवले अवकाश पाउने भएका हुन्। स्वास्थ्य, गृह, अर्थ, सञ्चार जस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेका सचिवहरु घर जाने अवकाश हुने सूचीमा चढीसकेको छ। केही सचिव ५८ वर्षे उमेरहदका कारण त कोही सचिवको  ५ वर्षे सेवा अवधिका कारण घर जाने भएका हुन्। 

अवकाशको सुरुवात चाँही नेपालकै पहिलो महिला कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलाबाट सुरु हुने भएको छ। ५८ वर्ष उमेरहदका कारण भदौं १५ गते  गड्तौला घर जानेछिन।  उनी पछि अवकाश हुने सचिवको सूचीमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली रहेका छन् । उनी सचिवको ५ वर्षे सेवा अवधिका कारण भदौं २२ गते सेवा निवृत्त हुनेछन् । ज्ञवाली २०७६ भदौं २२ गते सचिवमा बढुवा भएका हुन् ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी ५ वर्षे सेवा अवधिका कारण कात्तिक ५ गते घर जाने भएका छन् । उनी २०७६ कात्तिक ५ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । सुवेदीपछि सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल घर जानेमा परेका छन् । उनी मंसिर १३ गते ५८ वर्षे उमेर हदका कारण घर जाने भएका हुन् । गेलाल २०७७ साल मंसिर २५ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए । 

नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी मंसिर २८ गते घर जाने भएका छन् । ५८ वर्षे उमेर हदका कारण कानुन समूहका सचिव अधिकारी मंसिर २८ मा घर जान लागेका हुन् । अधिकारी २०७७ चैत ५ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई ५ वर्षे सेवा अवधिका कारण माघ २९ गते अवकाश हुँदैछन् ।उनी २०७६ माघ २९ मा नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् ।

नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे यहीँ फागुन १२ गते अवकाश हुनेछन् । २०७६ फागुन १२ गते सचिव सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण उनी फागुन १२ गते घर जानेमा परेका छन् । तर, उनी घर जानुभन्दा अगाडि जेलमा पुगेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि फागुन १२ गते नै घर जानेमा पर्छन् । उनी २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका हुन् । २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका स्वास्थ्य सचिव डा. पोखरेलले विशिष्ट श्रेणीमा ५ वर्ष काम गरेकाले उनी फागुन १२ गते घर जाने भएका हुन् ।

अर्थ सचिव मधुकुमार मरासिनी फागुन १६ गते घर जाने भएका छन् । ५८ वर्षे उमेर हदका कारण उनी फागुन १६ मा घर जाने भएका हुन् । मरासिनी २०७७ साउन १२ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । गृह सचिव एकनारायण अर्याल फागुन १८ गते घर जानेमा पर्छन् । ५ वर्षे सेवा अवधिका कारण उनी फागुन १८ मा घर जाने भएका हुन् । अर्याल २०७६ फागुन १८ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल चालू आर्थिक वर्षमै घर जानेमा पर्छन् । उनी २०८२ वैशाख २ गते अवकाश हुने भएका छन् । पोखरेल ५ वर्षे सेवा अवधिका कारण वैशाख २ गते घर जान लागेका हुन् । पोखरेल २०७७ वैशाख २ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए । पोखरेलपछि महालेखा नियन्त्रक विनोदप्रकाश सिंह घर जानेमा पर्छन् । ५८ वर्षे उमेर हदका कारण उनी वैशाख २५ गते घर जाने भएका हुन् । सिंह २०७९ असार ६ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते घर जानेमा पर्छन् । ५८ वर्षे उमेर हदका कारण उनले वैशाख अनिवार्य अवकाश पाउन लागेका हुन् । पाण्डे २०७८ असार ३० गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा पनि चालू आर्थिक वर्षमै घर जानेमा परेका छन् । सापकोटा ५ वर्षे सेवा अवधिका कारण २०८२ जेठ २८ गते अवकाशमा जाने भएका हुन् । सापकोटा २०७७ जेठ २८ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ५ वर्षे सेवा अवधिका कारण जेठ ३० गते अवकाश हुँदैछन् । उनी २०७७ जेठ ३० गते सचिवमा बढुवा भएका थिए । त्यस्तै उप-महालेखापरीक्षक (सचिव) बामदेव अधिकारी पनि चालू आर्थिक वर्षमै अवकाश पाउनेमा पर्छन् । अन्य तहका उच्च अधिकारीको पनि यहि आर्थिक वर्षमा ठूलो संख्यामा अवकाश हुने देखिएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्