सोसल मिडिया
युनिकोड
वरिष्ठ अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता नियुक्त गर्ने भएका छन्। बडाललाई दोस्रोपटक महान्यायाधिवक्ता नियुक्त गर्न ओली राजी भएका हुन्।
औपचारिक निर्णय हुन बाँकी भए पनि बडाल महान्यायाधिवक्ता हुने निश्चित भएको ओली निकट श्रोतको दाबी छ। सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नियुक्त भएका पोखरेलले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए। राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।
बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए। असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए। देउवाले आफ्ना विश्वासपात्र रमेश लेखकलाई खटाउदा ओलीले रमेश बडाललाई खटाएका थिए। दुवै रमेश वरिष्ठ अधिवक्ता हुन्। देउवाले रमेश लेखकलाई गृहमन्त्री बनाईसकेका छन्।