आइतबार विश्वासको मत लिने ओलीको पोल्टामा पर्ला दुई तिहाई ? यस्तो छ गणित

बिहीबार, साउन ३, २०८१

चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीले आईतबार विश्वासको मत लिने पक्कापक्की भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासंगको सल्लाह पछि ओली हतारिएर आईतबार विश्वासको मत लिने टुंगोमा पुगेका हुन्। 

मुलुकको ४५औं प्रधानमन्त्रीको रुपमा ओलीले आईतबार नै सदनमा सबोधन गर्ने कार्यक्रम समेत तय भएको छ। संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेका हुन् । ओलीले सोमबार शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरिसकेका छन् । उनको मन्त्रिपरिषद्मा एमालेर कांग्रेसका अतिरिक्त लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीसमेत छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा झण्डै २ तिहाई सांसद्को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दुई तिहाई भन्दा धेरै सांसद्ले विश्वासको मत दिने देखिन्छ । संसद्मा ८८ सीटसहित पहिलो र ७९ सीटसहित दोस्रो दल रहेका कांग्रेस र एमालेबाहेक १४ सीट रहेको राप्रपा, ७ सीट रहेका जसपा, ६ सीट रहेको जनमत, ५ सीट रहेको जसपा नेपाल, ४ सीट रहेको लोसपा, ४ सीटनै रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने र विश्वासको मत दिने आंकलन गरिएको छ । त्यस्तै स्वतन्त्रबाट निर्वाचित योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिँदैछन् । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै मोरंगका नेता हुन् ।

सरकारमा लोसपा र जसपामात्र सामेल भएपनि जसपा नेपाल र नाउपाले ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने राप्रपा छलफलमै रहेको छ । दुई ठूला दल मिलेर सरकार बनाउनु राम्रो कुरा भन्दै सबैभन्दा सुरुमा स्वागत गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको हुँदा राप्रपाले पनि विश्वासको मत दिने विश्वास एमालेलाई रहेको छ । दुवै झापाली हुन्। 

यता निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसहित ३ दलले भने ओलीलाई विश्वासको मत नदिने निश्चित भएको छ । माओवादीसहित रास्वपा र नेकपा एसले ओलीलाई विश्वासको मत दिँदैनन् । माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसका १० सांसद छन् । त्यस्तै एक जना सांसद रहेका आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले पनि ओलीको विपक्षमा मतदान गर्दा एक सांसद नै रहेको नेपाल मजदुर किसान पार्टीले तटस्थ रहने नीति लिने बुझिएको छ । तर, अझै केही दिन समय रहेको हुँदा यसमा घटबढ हुने निश्चित छ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्