ओलीको जालमा परेर सत्ताबाट बाहिरिएका प्रचण्डले बटुल्न थाले टालाटुली

शुक्रबार, साउन ४, २०८१

सहयात्रीले नै सत्तायात्रामा तगारो हालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटार छोड्नु पर्यो। एमाले अध्यक्ष केपी ओलीले स्वर्ग गए पनि संगै नर्क गए पनि संगै भनेर छारो हाल्दै पछारेको स्वयम् प्रचण्डले बताए। ओलीको जालमा परेर सत्ता बाट बाहिरिएका प्रचण्ड अहिले भने टाला टुली बटुल्न थालेका छन्। 

सरकारबाट बाहिरिएपछि अत्तालिएका प्रचण्डले समाजवादी मोर्चाको सहारा लिएर शक्ति सञ्चयको दाउमा लागेका छन्।

उनको सत्ता विमुख भए पछिको पहिलो सहारा समाजवादी मोर्चा बनेको छ । गत वर्ष गठित चार दल सम्मिलित समाजवादी मोर्चाको एक घटक जसपा विभाजित बनेको छ । जसपा विभाजनको आरोप प्रचण्डलाई नै लगाइएको छ।

जसपा विभाजन तत्कालीन अवस्थामा सरकारको नेतृत्व गरेका प्रचण्डले नै गरेको आरोप लगाउँदै त्यसको अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाको औचित्य माथि प्रश्न उठाउँदै बाहिरिएका छन्।यद्यपि उनलाई पुनः समेट्ने प्रयत्न जारी रहेको बताइएको छ।

अहिले समाजवादी मोर्चामा प्रचण्डको दल माओवादी केन्द्र, बाबु्राम भट्टराईबाट विभाजित नेसपाको महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठको समूह, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रहेका छन्।

यी दलहरुमध्ये विप्लव नेकपा संसदीय शक्तिका रुपमा रहेको छैन। अर्को घटक एकीकृत समाजवादीसँग १० संघीय सांसद छन् भने यादवको समूहसँग भने संघमा एक सांसद रहेको छ ।

प्रचण्डले शक्ति सञ्चय गर्ने आफ्नो पुरानै दाउ यसपालि पनि ससाना बाम घटकलाई समेटेर शक्तिशाली बन्न प्रयासरत रहेका छन्। २०६४ मा शान्तिप्रक्रियामा प्रवेश गरे यता चरणवद्द रुपमा विभाजनको नियति व्यहोरेको माओवादी संसदीय अंकगणितमा निकै कमजोर बनेको छ।

संसदीय रुपमा निकै कमजोर भएपनि सरकारको नेतृत्व गर्ने अवसर पाएका प्रचण्डले समीकरण बदल्दै तेस्रो कार्यकालको प्रधानमन्त्रीको रुपमा १८ महिना व्यतित गर्न सफल भए।२०६५ मा ठूलो शक्तिसहित संसदीय राजनीतिमा आएको माओवादी अनेकौं टुक्रामा विभाजित भएर दजनौंको संख्यामा पुगेको छ।

अहिले फेरि प्रचण्डले तिनै विभाजित केही घटकलाई सामेल गराएर समाजवादी मोर्चा सक्रिय बनाउने प्रयत्न जारी राखेका छन्। प्रचण्डले सरकारको नेतृत्व गर्दा निष्क्रिय जस्तै बनेको मोर्चा उनको सरकारबाट बहिर्गमन पछि पुनः सक्रिय तुल्याउने आफैंले जमर्को गरेका छन।

प्रचण्डको विगतको राजनीतिक पृष्ठभूमि पनि ससाना दलहरुलाई एकीर्कत गर्दै त्यसको नेतृत्व गर्दै आएको देखिन्छ।पञ्चायती व्यवस्थाको उत्तरार्धमा सानो पार्टी तत्कालीन नेकपा(मशाल)को नेतृत्वमा पुगेका प्रचण्ड बहुदलको आगमनसँगै ससाना कम्युनिष्ट घटकलाई एकीकृत गर्दै त्यसको नेतृत्वमा पुगेका थिए।

बहुदलीय व्यवस्थाको आगमन पछि उनले साना वाम घटकहरुलाई एकताबद्ध गरेर शक्ति सञ्चय गर्दै एकीकृत पार्टीको नेतृत्व गरेका थिए।माओवादीको पूर्ववत घटक तत्कालीन नेकपा(एकताकेन्द्र) प्रचण्डले साना वाम समूहलाई एकताबद्ध गर्दै गठन गरेका थिए। २०४८ सालमा गठित उक्त दलको महासचिव रहेका प्रचण्ड त्यसकै एक घटकको रुपमा रहेको माओवादी केन्द्रको हालसम्मै अध्यक्ष छन्।

तत्कालीन अवस्थामा सानो शक्तिका रुपमा रहेको आफ्नो दल नेकपा(मशाल), निर्मल लामा नेतृत्वको नेकपा (चौम)रुपलाल, विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही नेकपा(मसाल)लाई एकीकृत गरेर प्रचण्डले नेकपा(एकताकेन्द्र) गठन गरेका थिए।

सोही एकताकेन्द्रको चुनावी मोर्चाका रुपमा रहेको संयुक्त जनमोर्चाले २०४८ को संसदीय निर्वाचनमा सहभागी भएर ९ सिटसहित संसदमा आफ्नो उपस्थिति जनाएको थियो।

सानातिना वाम समूह समेटेर शक्ति सञ्चय गर्दैै संसदको तेस्रो शक्ति बनाउन सफल भएका प्रचण्डको राजनीतिक यात्रा त्यतिमै सीमित रहेन। उनले अझै जोखिमपूर्ण यात्रा तय गरेरै भएपनि थप शक्ति आर्जन गर्ने मोह जागे पछि २०५२ सालदेखि जनयुद्ध थालेका थिए।

जनयुद्धमार्फत शक्ति आर्जन गर्दै २०६४ मा शान्ति प्रक्रिया प्रवेशको प्रारम्भिक चरणमा सबैभन्दा ठूलो दलको संसदीय हैसियतसहित तत्कालीन संविधानसभामा प्रवेश गरेको थियो। यद्यपि त्यो शक्ति कायम राखिराख्न भने प्रचण्ड असमर्थ भए।

२०४८ सालमा स-साना वाम समूह समेटेर शक्तिशाली बन्ने नीति तय गरेका प्रचण्डले २०६५मा नारायणकाजी श्रेष्ठको नेकपा एकताकेन्द्र मसाललाई समाहित गरेर एकीकृत नेकपा माओवादी बनाएका थिए।

तथापि श्रेष्ठको सानो समूह समेटेर पार्टीको नामको अगाडि एकीकृत राखे पनि त्यसलगत्तै माओवादीमा विभाजनको महारोग बल्झिएको थियो।

विभाजनले आक्रान्त भएको माओवादीमा २०४८ सालको जस्तै ससाना घटककैरुपमा विभाजित भएको छ । अहिले फेरि प्रचण्डले पुरानै शैली अपनाउँदै त्यस बखतका जस्तै साना वाम समूहलाई समेटेर समाजवादी मोर्चामार्फत पार्टी एकीकरण गर्ने ध्याउन्नमा लागेका छन्।

उनको सोही समयको साना वाम घटक समेटेर नेता बन्ने मोह अहिले सरकारबाट बाहिरिएर सर्वाधिक कमजोर अवस्थामा पुग्दा पुरानै रणनीति तय गरेका छन्।

हिजो ससाना वाम घटकलाई एकताबद्ध गरेर राजनीतिक शक्तिका रुपमा उदय भएका प्रचण्ड अहिले कमजोर बन्दा पुरानै शैली अपनाएर समाजवादी मोर्चा मार्फत शक्ति आर्जन गर्ने जमर्को गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्