सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयलाई पूर्णता दिन थालेका छन् । प्रमुख स्वकीय सचिवको जिम्मा राजेश बज्राचार्यलाई दिएका उनले निजी सचिवको जिम्मा सहसचिव बिनोदबहादुर कुँवरलाई दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिवको जिम्मेवारी दिएका हुन् । यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता रहेका कुँवरले योपटक निजी सचिवको जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या महाशाखा हेरिरहेका कुँवरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काज सरुवा गरेको निजी सचिवको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार कुँवरलाई प्रधानमन्त्रीको निजी सचिवालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता महत्त्वपूर्ण निकाय रोज्न भनिएको थियो । तर, उनले त्यस्ता विभाग नरोजी प्रधानमन्त्री ओलीको निजी सचिव बनेका हुन् । कुँवरको शुक्रबार नै काज सरुवा भएको हो ।
अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भइसकेका कुँवर गण्डकी प्रदेश हुँदै स्वास्थ्य मन्त्रालय आएका थिए । ‘लो प्रोफाइल’मा बसेर स्वास्थ्यमा बसेका कुँवर ‘हाइ प्रोफाइल’को प्रधानमन्त्रीको निजी सचिव बन्न पुगेका छन् ।