सोसल मिडिया
युनिकोड
बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।
‘पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो’, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, ‘विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।’ उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए ।
बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए ।
आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताए ।
इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो। ‘कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो’, उनले भने, ‘कर्फ्यू लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ।’
आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिए । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।