सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको लाइन काटेर मात्रै डेटिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नउठ्ने दाबी संसदमै गरेका छन्।
विश्वासको मत लिनु अघि प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले शुक्रबार आफूले काटिएको उद्योगमा लाइन जोड्न दिएको निर्देशनको बचाउ गर्दै जायज मात्रै रकम लिनुपर्ने अडान दोहोर्याएका हुन्।
उनले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई दिएको बिल विवादित रहेकाले त्यसलाई छलफलबाट समाधान गरेर मात्रै बक्यौता उठाउने संसदलाई जानकारी दिए। ओलीले प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले प्रयोग गरेको भन्दा बढी बिजुलीको बिल थमाउँदा समस्या आएको खुलेरै उल्लेख गरे।
संसदमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्राधिकरणका एमडी घिसिङको कार्यशैलीप्रति चर्को असन्तुष्टि पोखे।
‘हिसाब बाधिसके, महालेखालाई पठाइसके भनेर तिर्नु नपर्ने विद्युत् महसुल असुल उपर गर्न त सकिँदैन होला। उद्योगी व्यवसायीले उर्जा मन्त्री, सचिव, प्राधिकरणका एमडीको अगाडि भनेको कुरा प्रयोग गरेको महसुल तिर्छौ, प्रयोग नगरेको तिर्दैनौँ। तिर्नु पर्दैन भनेको होइन, तिर्नुपर्छ। तर कुरा नमिलेकाले छानबिन गर्नुपर्ने भयो,’ ओलीले संसदमा अगाडि भने, ‘उद्योग बन्द गरेर पैसा आउँदैन। कहाँबाट लिएर तिर्छन्? उद्योग चल्न दिउँ, लिनुपर्ने जति असुल गरौँ, मनलागे जति होइन। कानुनी राज भनेको त्यही हो, तिराउनुपर्ने पैसा तिराउनुपर्छ। त्यसैले प्रधानमन्त्रीले उद्योगीहरुलाई पैसा नतिराउने भनेको छैन। त्यो अफवाह फैलाउन आवश्यक छैन।’
ओलीले महसुल विवाद ९ वर्षदेखि भएकाले लाइन काटेर समस्याको साधान नहुने ठोकुवा गरे। उनले भनेअनुसार बिजुली नदिएकाले उद्योगी मर्कामा रहेको उल्लेख गरे।
उनले भने, ‘विद्युत् महसुलको विवाद ९ वर्षदेखि छ। आज पहिलोपल्ट काटिएको होइन, के के मिलाएर दिइयो, फेरि काटिन्छ दिइन्छ। उद्योगीहरुले तिर्दिन भनेको छैन, यति प्रयोग गरेको तिर भन्नुपर्यो। डेडिकेटेड, ट्रङ्क लाइन जोड्ने भनेको तार जोड्ने भनेको होइन, बिजुली जोड्ने भनेको हो। बिजुली सप्पलाइन हुनुपर्यो नि। सम्झौता २४ घण्टा बिजुली दिने भनेको छ। लोडसेडिङ लगाइदिएको छ। केही घण्टा पाएको छ, केही घण्टा पाएइको छैन। विवाद छ, विवाद बसेर प्रमाणका आधारमा सल्टाउनुपर्छ कि उद्योग बन्द गराइदिने? मैंले के आदेश दिएको हुँ भने, उद्योग बन्द गराएर मजदुर बेरोजगार भए, मसिन चलेन, सप्लाइ रोकिए, बजारमा नपठाएपछि हाम्रा क्रेता पाइँदैन भोलि।’