बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले आजै दाबी पेश गर्ने भनिए पनि अन्तिममा किन गरेन ?

सोमबार, साउन ७, २०८१

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले आज दश बजे दाबी पेश गर्ने निर्णय भएको थियो। तर उनले भोलिमात्र दाबी पेश गने भएका छन् । यसअघि आज बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।

प्रदेश प्रमुख कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको भए पनि अन्तिम समयमा स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । उनकाअनुसार अब दाबी पेश भोलि बिहान १० बजे हुनेछ । एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको हो ।

सत्ता समीकरण परिवर्तन पछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को उपधानरा २ अनुसार सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो ।

कांग्रेस र एमालेले मुख्यमन्त्रीले शपथ लिएकै दिन सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । हाल प्रदेश सरकारमा १३ वटा मन्त्रालयहरु रहेका छन् । त्यसमध्ये एमालेले ६ र बाँकी ७ मन्त्री कांग्रेसले लिनेबारे छलफल चलिरहेको छ । तर, एमालेले ७ मन्त्रालय पाउनुपर्ने अडान राखेपछि भागबन्डा टुंगिन समय लाग्ने भएको नेताहरुले बताएका छन् । एमालेको अडानले केन्द्र डाकेपछी प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले त्यहाँको विषय मिलाउने बुझिएको छ। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्