दुई तिहाईका प्रधानमन्त्रीको निर्देशन हावामै उड्यो, कुलमानले दिए धक्का

सोमबार, साउन ७, २०८१

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक फेरि बस्ने भएको छ। आज बिहान बसेको बैठकमा काटिएका छ उद्योगको विद्युत् जोड्नेबारे कुनै निर्णय नभएपछि फेरि अर्को बैठक बस्ने भएको हो। 

काटिएका ६ वटा उद्योगको लाइन जोड्ने विषयमा सोमबार बिहान बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले केही गर्न सकेन । डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोड्नका लागि सोमबार बिहान बैठक बसेको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हालसम्म त्यस्तो कुनै निर्णय नभएको जानकारी दिए । “बिहान बैठक थियो, तर लाइन जोड्ने निर्णय भएको छैन,” उनले भने । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्म कुनै निर्णय नभएको बताए । “निर्णय भएको छैन । हामी निर्णय नभएसम्म लाइन जोड्दैनौँ,” उनले भने ।

यसअघि, शुक्रबार बसेको प्राधिकरण बैठकले पनि लिखित पत्र नआएसम्म लाइन नजोड्ने निर्णय गरेको थियो । यता दुई तिहाईका प्रधानमन्त्रीको निर्देशन हावामै उडिरहेको छ। प्रधानमन्त्री ओलीले अहिल्यै तुरुन्तै जोड्न निर्देशन दिएका थिए। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्