अधुरा र अलपत्र योजनालाई प्रधानमन्त्री ओलीले पूरा गर्ने

सोमबार, साउन ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले अधुरा र अलपत्र योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तत्पर रहेको बताएका छन् । वर्तमान सरकारले यस्ता योजनालाई प्राथमिकता दिने उनले बताए ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनको सदुपयोग गर्दै राष्ट्रिय गौरव, रूपान्तरणकारी, प्राथमिकता प्राप्त र राष्ट्रिय महत्वका अन्य आयोजनामा बजेट अभाव नहुने व्यवस्था मिलाइने बताएका हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न २०७७ सालमा मेरो नेतृत्वमा गठित सरकारले कैयौँ राष्ट्रिय गौरवका आयोजना, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजना र पालिका केन्द्रित योजनाको सुरुवात गरेको थियो,’– उनले भने ।

हाल कार्यान्वयनमा गएका आयोजनाअन्तर्गतका ठेक्काको कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख गर्दै उनले ठेक्का व्यवस्थापनलाई चुस्त बनाइने र जिम्मेवार पक्षलाई जवाफदेही बनाइने जानकारी गराए। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्