आँखा नसन्काउन र अनुहार चम्काउन कर्मचारीलाई गृहमन्त्रीको उपदेश

मंगलबार, साउन ८, २०८१

मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्न नयाँ गृहमन्त्री रमेश लेखक पुगे। निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गरे । उनले अध्यागमन मुलुकको अनुहार भएको पनि बताए। 

“तपाईंहरूलाई भेट्नेबित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,” उनले भने, “त्यो भाव र भावनाका साथ काम गर्नुस् ।”

देशभन्दा बाहिर जाने मानिसलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनुपर्‍यो,” उनले भने, “गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।”

पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको उनले बताए । त्यसलाई रोक्न सचेततापूर्वक खटिन उनले कर्मचारीलाई निर्देशन दिए । “मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ,” उनले भने, “अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।”

गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधयेक संशोधनका निम्ति एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह समेत गरे । राम्रो कानुन बनाएर त्यसबमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे ।

“संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधि ल्याउनुस्,” उनले भने, “कानुन निर्माणको विषय मेरो धेरै बढी चासो, रुचि र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुनसक्छ ।”

१६ वर्षअघि आफू श्रममन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको उनले स्मरण गरे । उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका निम्ति प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्