भारतसँग ८२ रनको फराकिलो हार व्यहोरेसँगै महिला एसिया कपमा नेपालको यात्रा समाप्त

मंगलबार, साउन ८, २०८१

भारतसँग ८२ रनको फराकिलो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिसि महिला एसिया कप टी–२० क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ ।

मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।

नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्