सोसल मिडिया
युनिकोड
पाँच हजार घुस दिएर काम गराएको बताउने पूर्व मन्त्री समेत रहेका वहालवाला सांसदलाई कारवाही गर्म माग गर्दै उजुरी दायर गरिएको छ।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।
घुस खुवाउने सांसदलाई कारबाही गर्न माग गर्ने पनि सांसद नै छन्। नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन्।
‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिने/ दिनेलाई सजायको व्यवस्था छ। रिसवत् दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारवाही गरियोस्’ अन्सारीले निवेदनमा लेखेका छन्।
पूर्व वनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए। उता घुस लिएका कर्मचारी माथि छानबिन गर्न समिति नै बनेको छ। घुस लिने र दिने दुबैलाई दण्डित गर्न माग गरिएको छ।