सङ्घीय सांसदका ६ वटा संसदीय समितिका बैठक बस्दै

बिहीबार, साउन १०, २०८१

आज सङ्घीय सांसदका ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । जसअनुसार अहिले विहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।

११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुनेछ । विहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, दिउँसो १ बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरिने तयारी छ । सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्