दुई पूर्व मुख्यसचिव भारत र चीनको राजदूत बन्दै, फिर्ता बोलाईनेमा को-को परे ?

बिहीबार, साउन १०, २०८१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विस्थापित गरेर बनेको केपी ओली सरकारले ८ देशमा नयाँ राजदूत नियुक्तिको सिफारिश गर्ने भएको छ। ओली सरकारले भारत, अमेरिका, चीन,जापान, अस्ट्रेलिया, मलेसिया, रुस र बेलायतमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको हो। 

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाले चार–चार देशमा राजदूत नियुक्ति गर्ने समझदारी गरिसकेको श्रोतको भनाई छ। 

भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने हुने पक्का भएको छ।  भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गर्न लागेको हो । दुवै पूर्व सचिव हुन्। 

अब बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूलाई राजदूतमा सिफारिश गर्नेछ । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन् । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ । त्यस्तै जापानका राजदूत दूर्गाबहादुर सुवेदीलाई पनि फिर्ता बोलाईने छ। 

रुसमा एकीकृत समाजवादी निकट मिलनराज तुलाधर र अस्ट्रेलियामा कैलाश राज पोखरेल अहिले राजदूत छन् । तुलाधर र पोखरेललाई पनि फिर्ता बोलाउने तयारी छ ।  उता अशोक राईको पार्टीलाई दिएको दुई राजदूतको समेत भाग खोस्ने तयारी भएको बुझिएको छ।अमेरिकामा चन्द्र घिमिरे राजदूत बन्ने पक्कापक्की जस्तै छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्