एकै पटक दर्जन सचिवको सरुवा हुँदै, कसले कसको फेरो समातेर कुन मन्त्रालय ताके ?

बिहीबार, साउन १०, २०८१

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको साता दिन बितेपछि ओली सरकारले सचिव अदलबदलको आन्तरिक तयारी थालेको छ। आफू अनुकुलका सचिव ल्याएर काम द्रुत गतिमा गर्न मन्त्रीहरूले चासो देखाएका छन्। 

सबै भन्दा ज्यादा आफू अनुकुलको सचिवको खाँचो अर्थ मन्त्री विष्णु पौडेललाई परेको श्रोतको भनाई छ। अहिले त्यहाँ मधु मरासिनी सचिव छन्, भने रामप्रसाद घिमिरे राजस्व सचिवको जिम्मेवारीमा छन्। 

त्यस्तै गृहमन्त्री रमेश लेखकले पनि अहिलेका सचिव एकनारायण अर्याल संग काम गर्न असजिलो मानिसकेका छन्। पत्रकारिता पृष्टभूमिका लेखकले अर्याललाई रुचाएका छैनन्। अर्याल भने त्यहि थमौती हुनका लागि बालुवाटारको फेर समात्न पुगिसकेका छन्। उता मन्त्रीले सचिव फेर्ने भेउ पाएपछि गृह सचिव ताक्नेहरुले पनि शक्तिकेन्द्र पुगेर कान फुक्न थालिसकेका छन्।  गृह सचिवका लागि प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्दप्रसाद निरौला, महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव धनश्याम उपाध्याय लागि परेकै छन्। 

धनश्याम उपाध्यायलाई गृहसचिव बनाउन पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले लेखकलाई दिनमा एक पटक भन्ने गरेको श्रोतको दाबी छ। दैलेखका घनश्यामको खड्का संगको हिमचिम पुरानै हो।  दैलेख र सुर्खेतको जुईनो जोडिएको खण्डमा घनश्यामले बाजी मार्ने छन्। उता, गृह बसिसकेका बिनोदले पनि घरदैलो भने छोडेका छैनन्। अहिले सम्मको कुदाई हेर्दा कर्णले गृह पड्काउने सम्भावना दरिलो रहेको श्रोतको भनाई छ। 

उता अर्थमा अख्तियारका रामेश्वर दंगालको प्रवेश हुने श्रोतको दाबी छ।  अर्थ सचिव मरासिनीलाई हरित गृहमा धपाईने लगभग निश्चित छ। लामो समय रक्षामा बसेका पर्वतका किरण कुमार शर्माले धपाईने बुझेपछि पूर्व कानून मन्त्री पदम गिरीलाई भेट्न थालेका छन्। गिरी पर्वतकै एमालेका सांसद हुन्। यता, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य उर्जामा जान खुट्टा उचालेर बसेका छन्। गीतकार समेत रहेका सुरेशले उर्जा मन्त्री दीपक खड्का संग तीन पटक कफी पिएको श्रोतको भनाई छ। 

कांग्रेसको नेतृत्व गर्दै ओली सरकारमा उपप्रधान सहित सहरी विकास मन्त्री भएका प्रकाशमान सिहले पनि नयाँ सचिव खोज्दैछन्। अहिलेका सचिव एमालेको भएको भनेर उनको कान फुकीसकिएको छ।  शहरी ताकेर बसेका सतर्कता केन्द्रका सचिव रामआधार साहले विभिन्न च्यानल मार्फत कुरा पुर्याएका छन्। विश्वबाबु पुडासैनी पनि शहरी नै ताकेर बसेका छन्। तर उनको रोजाई भने भौतिकमा छन्। भौतिकमा अहिले बर्दियाका कांग्रेस भनेर चिनिने गोपाल सिग्देल छन्। उनलाई हुत्याएर नुवाकोटका पुडासैनीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल मार्फत दबाब बढाएका छन्। झापाली एमाले देबेन्द्र दाहाल भौतिक मन्त्री छन्। 

उता पर्यटनले पनि नयाँ सचिव खोजेको छ। अहिले त्यहाँ मन्त्री पनि पाण्डे सचिव पनि पाण्डे नै छन्। सचिव गणेश पाण्डेलाई पठाएर मन्त्री बद्री पाण्डेले अर्कैलाई वचन दिएको श्रोतको भनाई छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणी सुबेदीले एमाले महासचिव मार्फत संचार मन्त्रालयको सचिवको कुरा अगाडी बढाएका छन्। एमाले भनेर चिनिने सचिव सुबेदी र शंकर दुवै दाङ्गका हुन्। 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्