कोशीको सत्ता पनि माओवादीलाई फापेन, चार भाई मन्त्री फर्किए घर

शुक्रबार, साउन ११, २०८१

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका हुन् । सरकारबाट बाहिरिने विषयमा आवश्यक निर्णय लिन प्रदेश संसदीय दलको बैठक बस्दैछ ।

नेता इन्द्रबहादुर आङ्वोले आज दलको बैठक बसेर निर्णय गर्ने बताए । एमालेका हिक्मत कार्की नेतृत्वको कोशी सरकारमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा प्रतिपक्षमा माओवादी पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन् । केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्