लिलापछिको मुख्यसचिवमा ओलीको नजर कहाँ ठोक्कियो ? कसको कुण्डली कस्तो ?

शुक्रबार, साउन ११, २०८१

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परे। निलम्बित अर्यालको पद योजना आयोगमा सारिएको छ। अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयमा रहेका सचिव मध्येकी वरिष्ठ सचिव लिलादेवी गड्तौला तेश्रो किस्तामा मुख्यसचिवमा बढुवा भएकी छन्। निमित्त मुख्यसचिव, कामु मुख्यसचिव हुँदै साउन १० गतेको क्याबिनेटले उनलाई मुख्यसचिवमै नियुक्त गरेको छ। उनी नेपालकै पहिलो महिला मुख्यसचिव बनेकी छन्। 

नेपाल सरकारका सचिव मध्येकै वरिष्ठ सचिव भएकै कारण चाँही उनको नियुक्ति भएको होइन। उनी भन्दा वरिष्ठ सचिव अझै ९ जना छन्। तर, उमेरका कारण भने उनी सबै भन्दा ज्येष्ठ सचिव थिईन। निमित्त र कामु भाकी उनैलाई मुख्यसचिव नियुक्त गर्न प्रधानमन्त्री ओली कसरी राजी भए ? यसका केही कारण छन्। 

एक त प्रधानमन्त्री ओली महिलालाई अगाडी बढाउनु पर्छ भन्ने चेतबाट ग्रसित हुनु पनि लिला मुख्यसचिव बन्नुको कारण हो। ओलीले आफ्नै पार्टीमा पनि महिलालाई अवसर दिंदै आएका छन्। अखिलको अध्यक्ष भएको मात्र योगदान भएकी सुनिता बराललाई सांसद बनाउंदै ओलीले एमालेको सचेतककै जिम्मा दिएको आलो नजिर छ। 

अर्को प्रधानमन्त्री ओली र लिला एकै जिल्ला तेर्हथुममा जन्मिएका हुन्। लिलालाई चेली भनेर सम्बोधन गर्ने ओलीले पहिलो महिला मुख्यसचिव आफैले बनाएको जस लिन चाहानु पनि हो। जुन कुरा ओली स्वयमले सामाजिक संजाल मार्फत संकेत गरिसकेका छन्। अर्का तिर एमाले निजामति कर्मचारीमा पकड भएको पार्टी हो। ओलीले त्यो पकडमा थप जलप लगाउन भएपनि घर जान ३७ दिन बाँकी भएकी लिलालाई मुख्यसचिव बनाए। 

उमेरहदका कारण भदौ १५ गते घर जाने लिलाले १४ गते सम्म मात्र मुख्यसचिवको रुपमा काम गर्नेछिन। त्यसपछि को हुन्छ मुख्यसचिव भन्ने विषयले ठाउँ पाएको छ। वरिष्ठता हेर्ने हो भने लिलापछिको मुख्यसचिवको स्वाभाविक दाबेदार योजना आयोगका सचिव तोयानारायण ज्ञवाली हुन्। 

‘राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ ।’ निजामती सेवा ऐन २०४८ को दफा १८ उपदफा २ को ‘क’ले ठ्याक्कै यसै भन्छ। ज्येष्ठता र कार्यकुशलताको आधारलाई जोखेर सरकारले मुख्यसचिवको नियुक्ति गर्ने हो। तर कार्यकुशलताको पनि मापन गर्ने सुविधा सरकारलाई भएपछी वरिष्ठ हुँदैमा मुख्यसचिव हुने भन्ने भएन। 

तोयानारायणको ५ वर्षे सचिवको कार्यकाल आगामी भदौ २२ गते पूरा हुँदैछ । २०२५ साल फागुन २६ गते जन्मिएका ज्ञवाली यदि मुख्यसचिव नियुक्त भइहालेमा २०८३ साल फागुन २६ गतेसम्म मुख्यसचिवको जिम्मेवारीमा रहनेछन् । उनले मुख्यसचिव भए नै पनि पूरै कार्यकाल चलाउन पाउने छैनन्। ज्ञवाली कांग्रेस निकट भनेर चिनिएपनि उनलाई मुख्यसचिव बनाउने गरि बोक्ने गतिलो कोही नभएकाले उनले मुख्यसचिवको जिम्मेवारी पाउने खासै सम्भावना नभएको श्रोतको भनाइ छ। 

ज्ञवालीपछिका वरिष्ठ सचिव रामकृष्ण सुबेदी हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सुवेदी पनि मुख्यसचिवका दाबेदार हुन्। आगामी कात्तिक ५ गते उनको सचिवको पाँच वर्षे कार्यकाल पूरा हुन्छ। २०२५ पुस १५ गते  जन्मिएका सुवेदी मुख्यसचिव नियुक्त भएमा २०८३ पुस १५ गते अर्थात २ वर्ष जति मुख्य सचिवको जिम्मेवारीमा रहन्छन। तर उनी मुख्यसचिव बन्ने सम्भावना छैन। माओवादी निकट भनेर आफै चिनाउने सुवेदीलाई ओली सरकारले अभयदान दिने पटक्कै सम्भावना छैन। 

वरिष्ठताको तेश्रो नम्बरमा रहेका दिनेश भट्टराई मुख्यसचिवका प्रवल दाबेदार हुन्। कथं कुरो बिग्रेको खण्डमा अर्कै कुरा नत्र ओलीको रोजाईमा भट्टराई परिसकेका छन्। तेह्रथुममै जन्मिएर बिराटनगर झरेका भट्टराईलाई ओलीले लिलापछिको मुख्यसचिव बनाउने लगभग पक्का रहेको भरपर्दो श्रोतको दाबी छ। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव भट्टराईको आगामी माघ १० गते सचिवको ५ वर्षे कार्यकाल पूरा हुँदैछ । भट्टराईको जन्ममिति २०२७ पुस ११ भएकाले यदि भट्टराई मुख्यसचिव नियुक्त भए मुख्यसचिवको ३ वर्षे पूरै कार्यकाल पूरा गर्नेछन् । मुख्य सचिवको पूर्ण कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदा पनि उनको ५८ वर्षे उमेरहद पूरा हुन अझै १ वर्ष बाँकी रहनेछ । यदि सचिवबाटै अनिवार्य अवकाशमा जानुपर्ने अवस्था आएमा उनी ५४ वर्षकै उमेरमा अनिवार्य अवकाशमा जानेछन् ।

भट्टराई यसअघि तत्कालीन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा २०८० बैशाख २७ देखि फागुन २९ सम्म १० महिना बिताएका थिए । त्यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार हेर्दै आएका थिए । प्रधानमन्त्री कार्यालयभन्दा अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । सहसचिवबाट सचिवमा बढुवा भइसकेपछि उनको पदस्थापन कोशी प्रदेशको प्रमुख सचिवमा भएको थियो । २०७६ मा सहसचिवबाट सचिवमा बढुवा भएका भट्टराई २०७६ माघ २९ देखि २०७७ फागुन ४ सम्म एक वर्ष कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा थिए ।

भट्टराईपछि एकनारायण अर्याल वरिष्ठ सचिवको सूचीमा छन्। २०२४ मंसिर १० मा जन्मिएका गृहसचिव अर्याल पनि मुख्यसचिवका दाबेदार हुन्। उनले मुख्यसचिवको पूरा कार्यकाल उपभोग गर्न नपाउने हुनाले उनलाई मुख्यसचिव बनाउन ओलीलाई खासै जाँगर नचल्ने श्रोतको भनाई छ। अर्याल भने चिनिएका एमाले नै हुन्। अर्यालको ५ वर्षे सचिवको कार्यकाल भने आगामी फागुन १८ गते सकिन्छ। मुख्यसचिव भएमा उनले २०८२ मंसिर २४ गतेसम्म मात्र खान पाउनेछन्। निजामति सेवाको उपल्लो पद मुख्यसचिव फेरफार गरिरहन नहुने ओलीले बताए बाट पनि अबको मुख्यसचिव दिनेश भट्टराई नै हुनेमा लगभग शंका गर्न नसक्ने अवस्था छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्