स्वास्थ्यमन्त्रीको अस्तव्यस्त समय तालिका, एउटै कार्यक्रममा अढाइ घण्टा कुराए

शनिबार, साउन १२, २०८१

धेरैले आशा र महत्वका साथ हेरिएका स्वास्थ्यमन्त्री प्रदिप पौडेलको दैनिक समय व्यवस्थापन कति फितलो छ भन्ने प्रमाण शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सव समारोहबाट स्पष्ट भएको छ । 

प्रमुख अथितिका रुपमा विहान १०ः३० बजेका लागि निम्ताइएका मन्त्री पौडेलले करिब अढाइ घण्टा आयोजक र सहभागीहरुलाई कुराएर हैरान बनाएको एक सहभागीले बताए । १०ः३० मा अस्पतालको बार्षिकोत्सवको उदघाटन गर्न पुग्नुपर्ने मन्त्री एक बज्न लाग्दामात्र अस्पताल परिसरमा पुगेका थिए ।

‘करिब २२ सय व्यक्ति सहभागी हुने अनुमान गरिएको, मन्त्री नियुक्त भएपछि पहिलो पटक भब्य औपचारिक समारोहमा पौडेल सहभागी हुने भएकाले हल खचाखच थियो । तर अढाइ घण्टासम्म मन्त्रीको उपस्थिति नहुँदा केही मिडियाकर्मी र सहभागी फिर्ता हुनुपरेको थियो,’ नाम नबताउने सर्तमा एक सहभागीले भने ।

आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ५ मा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन गएका मन्त्री पौडेललाई सोही कार्यक्रममा आयोजकले तीन घण्टा ढिला गरी कार्यक्रम सुरु गरेका थिए । ‘विहान ८ बजेलाई कार्यक्रम तय भएको थियो तर ११ बजेमात्र सुरु भयो । मन्त्रीज्यूको समय व्यवस्थापन फितलो भएको होइन, आयोजकले समयमा ख्याल नगर्दा केही समस्या आएको हो,’ सचिवायले प्रष्टिकरण दिएको छ । 

स्वास्थ्यमन्त्रीको समय व्यवस्थापनबारे पत्रकार भिसा काफ्ले लेख्छन्, ‘दुई घण्टादेखि स्वास्थ्यमन्त्रीको पर्खाइमा वीर अस्पताल तर मन्त्रीको अझै अत्तोपत्तो छैन । मन्त्रीको औपचारिक कार्यक्रममा पहिलो  पटक सहभागी, त्यो पनि साह्रै झुर ।’ त्यस्तै अर्का पत्रकार अर्जुन अधिकारी सामाजिक संजालमा लेख्छन्,‘प्रदिप पौडेलले स्वास्थ्यमा काम गर्दैनन् भन्ने स्पष्टै छ। वीरका कार्यक्रम अवमूल्यन गर्दै किथ्रे कार्यक्रम उद्घाटनमा होलान, उनको पर्खाइमा दुई घण्टादेखि वीरमा ।’

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्