स्कूल बस दुर्घटना हुँदा आमाछोराले ज्यान गुमाए,यी हुन् २८ घाईते

सोमबार, साउन १४, २०८१

पोखरामा स्कूल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।

विद्यार्थी लिएर आउँदै गरेको एलपी देवकोटा मेमोरियल स्कूलको बस सोमबार पोखरा महानगरपालिका-२१, छरछरेमा दुर्घटना भएको हो। दुर्घटनामा ३३ वर्षीया आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता वसन्त शर्माले बताए।

पोखरा-२१, क्रिस्तीमा रहेको एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी ल्याउँदै गर्दा सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनामा गम्भीर घाइते भएका आरती र प्रिन्सलाई गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो। अस्पतालले मृत घोषणा गरेको शर्माले बताए।

आरती स्कूलमै कार्यरत थिइन्। प्रिन्स यूकेजीमा अध्ययनरत थिए।

दुर्घटनामा २८ जना घाइते भएका छन्। बसमा चालक, एक जना स्कूलका कर्मचारी र २८ विद्यार्थी सवार थिए। चालक पनि घाइते छन्। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यी हुन् घाइते

पोखरा-३१ कृस्तीका ९ वर्षीय अनमोल विक, सोही ठाउँका ५ वर्षीय रोशन बराल, पोखरा-२१, रामदीका १४ वर्षीय दिप्सन कार्की, ६ वर्षकी योजना गुरुङ,  १३ वर्षकी डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की,  ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा विक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विशिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, ५ वर्षीय प्रिन्स विक, १२ वर्षीया सिम्रन विक र ११ वर्षीय विवश खत्री। उनीहरू गण्डकी मेडिकल कलेजमा उपचाररत छन्। 

यस्तै पोखरा-२१ कै ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १३ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीय अस्मित विक, ३० वर्षकी अभिभावक सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले र ११ वर्षीय निश्चल सुनारको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

कास्की प्रहरीका अनुसार  पोखरा-१७ विरौटा बस्ने ५५ वर्षीय बस चालक टेकबहादुर भुजेल, पोखरा-२१ बस्ने ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको चाहिँ मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको नाक, मुख र डाढ तथा केहीको आँखामा पनि चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्