सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओलीले एकै पटक २१ सचिवको ठाउँ सारी गरेको छ।
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।
अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरे आएका छन् त्यहाँका सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(वाणिज्य) दिनेश घिमिरे आएका छन् । अर्थ मन्त्रालय घिमिरे दाजुभाईलाई जिम्मा लगाईएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सारिएका छन्। श्रमका घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्याईएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणी सुवेदीलाई पुर्याईएको छ। उनी एमाले महासचिव शंकर पोखरेलको सिफारिशमा सरुवा भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा पुर्याएर रक्षा मन्त्रालयका सचिव किरण राज शर्मालाई वित्त आयोगको पत्र दिईने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । उर्जा मन्त्रालयमा एक सचिव रिक्त थियो। केशवकुमार शर्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएर फर्किएका छन्।
त्यस्तै,राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहलाई नेपाल ट्रष्टमा पुर्याईको छ भने नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा सारिएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य जल तथा ऊर्जा आयोग पुर्याइएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दुवाडीको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ भने राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोग पठाईएका छन् । त्यहाँका राजकुमार श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा धपाईएका छन्। उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चाबी दिईएको छ।
यता, वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय(वाणिज्य) सचिवमा सरुवा भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय तथ्याङ्क कार्यालय पठाईएको छ भने त्यहाँका अर्जुनप्रसाद पोखरेललाई भूमि मन्त्रालय जिम्मा लगाईएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सरजु कुमार वैद्यको पनि सरुवा भएको श्रोतको भनाई छ ।