देउसी भैलो खेलेका बैरागी रित्तै, संविधानमै नभएको पदबाट दिए राजीनामा

बुधबार, साउन १६, २०८१

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्। मुख्यसचिवको कार्यकाल बाँकी छँदै बैकुण्ठ अर्याललाई किस्तिमै राखेर मुख्यसचिव दिन राजी भएका उनले साउन ९ गते राजीनामा दिएका हुन्। 

पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्डको पालामा मुख्यसचिवबाट राजीनामा दिएर मन्त्री सरहको सुविधा पाउनेगरी उनी सुरक्षा परिषद्को सल्लाहकार बनेका थिए । निलम्बित मुख्यसचिव अर्यालका लागि ठाउँ खाली गराउन मुख्यसचिव पद त्यागेका वैरागीलाई दाहाल नेतृत्वको सरकारले संविधानमै नभएको सल्लाहकार पद नयाँ सिर्जना गरेर नियुक्ति दिलाएको थियो ।

स्रोतका अनुसार प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेसँगै ओलीले सो पद हटाउन खोजेका थिए । कार्यकाल नसकिँदै हटाउँदा राजनीतिक पूर्वाग्रहको आरोप खेप्नुपर्ने डरमा रहेका ओलीले वैरागीलाई भारतका लागि राजदूत बनाउने आश्वासन दिलाएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै भारतमा नेपाली राजदूत खाली थियो । विगतमा आफैँ प्रधानमन्त्री हुँदा मुख्यसचिव बनाएको हुँदा वैरागीलाई भारतको लागि राजदूत बनाउन ओली सहमत भएका थिए । स्रोतका अनुसार सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र एमालेबीच राजदूत भागबन्डा हुँदा भारत कांग्रेस र चीन एमालेलाई परेको छ । चीनमा एमालेले कृष्णप्रसाद ओलीलाई सिफारिस गर्दा कांग्रेसको भागमा परेको भारतमा भने निवर्तमान राजदूत शंकर शर्माले नै निरन्तरता पाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई फिर्ता बोलाएर वैरागीलाई पठाउने इच्छा राखेका पनि थिए । तर, ओली सरकारमा मन्त्री रहेकी देउवा पत्नी आरजु राणाले शर्मालाई फिर्ता नबोलाउने अडान लिएपछि वैरागी रोकिन पुगेका छन् । राजदूत बन्न बैरागीले निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई अगाडी लगाएर शक्ति केन्द्रमा देउसी भैलो खेलेका थिए। 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्