सोसल मिडिया
युनिकोड
मामाको घोडी मेरो ही ही ! मामाको धन फुपूको श्राद्ध भन्ने आहान जति पुरानो भएपनि यसले बेला बखत उचित स्थान पाउँदै आएको छ। यो उखान संग मिल्दोजुल्दो काम पूर्ववर्ती पुष्पकमल दाहालको सरकारमा मन्त्री भएकाले गरेका छन्। मन्त्रीलाई राज्यले मन्त्री छँदा सम्म दिएका जिन्सी सामग्री आफ्नै घर लगेर प्रयोग गरेपछि उक्त आहान ती पूर्वमन्त्रीप्रति आकर्षित भएको छ।
मन्त्री भए बापत राज्यले सुरक्षा देखि सवारी सम्म र खाना पकाउने भाँडो देखि पस्किने पन्यू सम्मको जोहो गरिदिन्छ। ओड्नलाई सिरक र मुख धोएर पुछ्नलाई तौलिया सम्म राज्यले नै खरिद गरेर दिन्छ। तर, यी सामग्री ती मन्त्रीले आफू पदमा बहाल गरेका बखत सम्म मात्र प्रयोग गर्न पाउने छन्। थोत्रे र कामै नलाग्ने किन नहोस् ती सामग्री राज्यका तत् तत् निकायमा बुझाउनै पर्छ। तर दाहाल सरकारको एक पलाकी मन्त्री रन्जिता श्रेष्ठले भने दाईजो पाए झैँ गरि सबै सामान पोको पारेर घरै लागिन्। बरबुझारथ गर्न आलटाल गरेको तथ्य खुलेको छ।
नागरिक उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष समेत रहेकी रन्जिता २०७९ मङ्सिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ बाट ३०,४०४ मत ल्याएर निर्वाचित सांसद हुन्। पहिलो पटक सांसद बनेकी उनले १७ चैत २०७९ मा प्रचण्ड सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको पद बहाली गरिन्। मन्त्री बनेपछि उनलाई सरकारले हरिहरभवन स्थित मन्त्री निवासको बी थ्री उपलब्ध गरायो।
भीभीआईपी र भीआईपीको निवास ब्यबस्थापन गर्दै आएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई उनले जे-जे सामग्री मागिन् उक्त अड्डाले तुरुन्तै ती सामग्री उपलब्ध गरायो। किस्ता-किस्तामा प्रचण्डले सरकार पुनर्गठन गरेपछि उनले २०८० फागुन २३ गते मन्त्री बाट हट्नु पर्यो। ११ महिना मन्त्री भएकी श्रेष्ठले मन्त्री बाट हटेको पाँच महिना हुँदा सम्म पनि मन्त्रीको हैसियतमा प्राप्त गरेका सामग्री अझै फिर्ता गरेकी छैनन्।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आधा दर्जन पटक फोन गरेर तागेता गर्दा पनि उनको कानमा बतास लागेको छैन। हुन त उनी मन्त्री बाट हटेकै दिन उनको सचिवालयका सदस्यले व्यवस्थापन कार्यालयलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रयोग गरेका तर फिर्ता गर्नुपर्ने सामग्रीका विषयमा आफूहरू जवाफदेही नहुने भन्दै ठाडो निवेदन दर्ता गराएका थिए।
श्रेष्ठका स्वकीय सचिवद्वय रमेश विश्वकर्मा र रणबहादुर चौधरीले दिएको निवेदनमा मन्त्रीले पुरानो वासिंग मेसिन, गलैचा, हिटर,सिरक डसना,सिरानी,कुसन, थाल कचौरा, इन्डक्सन चुलो लगायतका अन्य सामग्री प्रयोग गरेको र उहाँकै जिम्मामा रहेको व्यहोरा उल्लेख गर्दै ती सामग्री मन्त्री बाटै असुल गराउन अनुरोध गरेका छन्। निवेदनमा उल्लेख नभएको तर कार्यालयले खरिद गरेका लाखौ मूल्यबराबरका केही थान गलैचा मन्त्रीको आफन्तकोमा पुर्याईएको श्रोतको दाबी छ।
मन्त्रीले यति नै दिनमा निवास छोड्नु पर्ने र प्रयोग गरिएका सामग्री फिर्ता गर्नु पर्ने समय भने तोकिएको छैन। तर, ब्यबहारत पदमा बहाल नरहेपछि जति सक्दो चांडो सामान फिर्ता भने गर्नै पर्छ। नियतमा लेउ लाग्दा र विवेकमा बिर्को लाग्दाको अबस्था बाहेक महिना दिन भन्दा उता कुनै पनि पूर्वमन्त्रीले समय घर्काएका छैनन्। मन्त्री बाट हटेको पाँच महिना सम्म पनि रन्जिताले सामान फिर्ता नगरेर आफूले आफैलाई दुनियाँ सामु चिनाउन सफल भएकी छन्। यस विषयमा पूर्व मन्त्री श्रेष्ठको धारणा लिन टेलिफोन सम्पर्क गर्दा उनको फोन उठेन।
शुरुमा उनले फेरी मन्त्री बन्दैछु भनेर सामान फिर्ता गर्न इच्छा नगरेको पाईएको छ। हुन पनि उनी पर्यटन मन्त्री अहिल्यै तुरुन्तै हुने हल्ला नै चल्यो। प्राय जसो सबै संचार माध्यामले रन्जिता पर्यटन मन्त्री बन्दै भन्ने व्यहोराको समाचार लेखेपछि होला ता नि हुने वाला मन्त्री संग किन पंगा खेल्नु भनेर संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले तागेका गरेन। अहिले तागेता गरेपनि उनले सामान बुझाउने लक्षण देखाएकी छैनन्। बरु पार्टीका सांसद अरुण चौधरीलाई राज्यमन्त्री सिफारिश गर्दै प्रधानमन्त्री केपी ओलीलाई पत्र पठाएकी छन्। रन्जिता आफैं मन्त्री बन्ने च्याप्टर भने क्लोज भई सकेको छ।
आध्यात्ममा गहन रुची राख्ने पूर्वमन्त्री श्रेष्ठले बंगलामुखी हुँदै पशुपतिनाथमा मन्त्री छँदै लाख बत्ति बालिन्, पाथिभारा माताको दर्शन गर्न पनि पुगिन्, तर आफैं मन्त्री हुँदा राज्यले खरिद गरेर म्यादी उपयोगका लागि दिएको सामग्री दाईजो झैँ ठानेर घरै लानु र तालुकदार अड्डाले फिर्ता गर भन्दा नगर्नुलाई उदेक लाग्दो विषय भएको भन्दै टिप्पणी गरिन् थालेको छ।