न रह्यो बाँस न बज्यो बाँसुरी, छोड्ने र समात्ने दुवैको सकियो चुरीफुरी 

बुधबार, साउन १६, २०८१

परिस्थितिले कुनै बेला झुक्याएर यसरी चड्कन हान्छ नि त्यो कसैले मिहिन ढंगले मेसो नै नपाउन सक्छ। अझ भुँईको टिप्न खोज्दा पोल्टाकै खसेपछि त झन् लाग्नु सम्मको थकथकी लाग्छ।  

अहिले लगभग त्यस्तै-त्यस्तै भएको छ श्रीमान् शंकरदास वैरागीको हकमा। छिमेकी भारतका लागि राजदूत नियुक्त हुने निश्चित भएपछि छँदाखाँदाको मन्त्री सरहको राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारबाट वैरागीले राजीनामा दिए। अन्ततः उनी न भारतको राजदूत भए न त सुरक्षा परिषद्मा नै रहे। उनलाई वर्तमान सरकारले भारतमा राजदूत पठाउन योग्य भन्दै सुरक्षा परिषद्को सल्लाहकारबाट राजीनामा दिन लगाएको थियो।

सुरक्षा परिषद्को सल्लाहकार रहँदैमा राजदूत हुने विषय राम्रो पनि भएन भनेर उनले राजीनामा त दिए। तर अन्तिममा उनी जिल्लिए। बालुवाटार-बूढानीलकण्ठ दुवैको गुड लिस्टमा रहेका वैरागीलाई केही कांग्रेसीको दबाबमा राजदूत हुनबाट रोकेको देखिन्छ। परराष्ट्र सेवा प्रवेश गरे लगत्तै भारतमा प्रशिक्षण लिएका वैरागी परराष्ट्र सचिव हुँदा पनि भारत बुझ्ने पछिल्ला कूटनीतिज्ञ हुन्। तर उनलाई सरकारले जानाजान किन भारत पठाएन त्यो रहस्यकै कुरा छ। उनले विभिन्न शक्ति केन्द्रका खुड्किलामा सहज पँहुच भएका निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई बोकेर नहिडेका पनि होइनन्।  जे-जे गरेपछि दाल गलेन र अन्तिममा बैराग लागेर बरालिनु पर्ने अवस्था आई लाग्यो। 

हुन त मुख्यसचिवको पदावधि छँदै राजीनामा दिएका बैरागीलाई यति बेला तत्काललाई ठूलो ठेस लागेको छ। दुई दिनपछि घर जाने बैकुण्ठ अर्याललाई सेटिंगमा मुख्यसचिव बुझाएका बैरागी र अर्याल एकै पटक भित्तामा पुगेका छन्। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि बैकुण्ठ निलम्बित छन्, यता बैरागीको राजदूत मोह तुहिएको छ। एकै पटक दुई भाईलाई राहु र केतुले अँगालो हालेको छ। 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्