सोसल मिडिया
युनिकोड
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही आज बस्दैछ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।
विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिने र तिनलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ।
पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकाङ्क्षी धेरै भएपछि नेताहरुको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गरिने नेता पाण्डेयले जानकारी दिनुभयो। बागमतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनित गरिने जनाइएको छ। केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ।
मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।