सोसल मिडिया
युनिकोड
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर शिक्षामा गुणस्तरीयता पाउन नसकिने बताएकी छन् । आज (आइतबार) कास्कीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाउने, दलका झोले हुन भन्नेलगायतका गतिविधिहरु रोकिनुपर्ने बताएकी हुन् ।
शिक्षकहरुलाई लान्छना लगाउने भन्दा पनि कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताएकी हुन् । उनले शिक्षा ऐन विचाराधीन अवस्थामा रहेको बताउँदै यो पारित भएपछि अहिले देखिएका सबै प्रकारको समस्याहरु विस्तारै समाधान हुँदै जाने बताईन् ।
‘शिक्षकहरुलाई अनावश्यक लान्छना लगाउने, यी झोले हुन् भन्ने, तिनीहरु बेठीक हुन् भन्ने, तर तिनै शिक्षकहरुले विद्यालय धान्नुपर्ने कुराबाट हामीले आज खोजिरेहको गुणस्तरीयता पाउँदैनौं । उहाँहरुलाई विद्यालयमा बस्नुपर्छ, विद्यालयमा काम गर्नुपर्छ भन्ने कुरामा कसरी समर्पित गराउने भन्ने चाहीँ विद्यालय शिक्षा ऐन आइसकेपछि त्यो ऐनलाई प्रभावकारी ढङ्गले लागू गर्न सक्दा यी कुराहरु हल हुँदै जान्छन्,’– उनले भनिन् ।
साथै, उनले पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठतर्फ लक्षित गर्दै लोकप्रियतावादी विचारले मात्रै समाजमा नेतृत्व गर्न नसकिने बताईन् । आजको ब्यबहारिक कुरालाई अबमूल्यान गरेर सही ठाउँमा पुग्न नसकिने उनको भनाइ छ । मन्त्री भट्टराईले शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्दै गएर विश्वास आर्जन गर्न सकेको खण्डमा विद्यार्थी पलायन रोक्न सकिने बताईन् । उनले पढिसकेका विद्यार्थीलाई रोजगारी दिनेगरी सरकार प्लानिङमा जानुपर्ने बताईन् ।