सोसल मिडिया
युनिकोड
सोमबारको सेयरबजारमा जलविद्युत् कम्पनीहरुमा सर्वाधिक खरिद चाप देखिएको छ।
जलविद्युत् समूहका कम्पनीमा लगानीकर्ताले सेयर माग बढाउँदा मूल्यगतरुपमा पनि सर्वाधिक बढ्नेमा यी कम्पनी अगाडि आएका छन्।
सोमबार नेप्से सूचक ४०.७६ अंकले बढेर २७ सय ९६.३८ अंकमा सेयरबजार बन्द हुँदा ८ वटा जलविद्युत् कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
यो दिन रुरु जलविद्युत्, सीईडीबी हाइड्रो, सगरमाथा जलविद्युत्, कुथेली बुखारी हाइड्रो, भगवती हाइड्रो, माथिल्लो मैलुङखोला जलविद्युत्, भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो।
आज कारोबारमा आएका अधिकांश जलविद्युत् कम्पनीको मूल्यमा उछाल आएको हो। समग्रमा आज १७ अर्ब ८० करोडको कारोबार हुँदा १५३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्य घटेको छ।
घट्नेमा भने फाइनान्स र माइक्रोफाइनान्स कम्पनीहरु छन्। निरन्तरको वृद्धिपछि आज यी समूहका कम्पनीहरुमा करेक्सन देखिएको हो। जसमा नेपाल फाइनान्स कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दा अन्यको सामान्यले रकम घटेको हो।
कारोबारमा भने आज हिमालयन रिइन्स्योरेन्स कम्पनी आगडि देखिएको छ। यो कम्पनीको १ अर्ब २५ करोड रुपैयाँको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४७ करोडको कारोबार भएको हो।