सरकार विचौलियाले बनाइदिएको आरोप लगाउँदै प्रचण्ड यसरी कुर्लिए 

मंगलबार, साउन २२, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान नेपाली कांग्रेस–नेकपा एमालेको गठबन्धन सरकार विचौलियाले बनाइदिएको आरोप लगाउँदै बहुतमको घमण्ड देखाए दुर्भाग्य हुने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गलत बाटोमा हिँडेको आरोप पनि उनले लगाए । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको चलखेल आफूलाई सबै थाहा भएको दाबी गरे ।

‘सरकारले दलाल, विचौलिया, तथाकथित उद्योग व्यवसायीहरूलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको छ। सरकारले यो दुःसाहस नगरोस्, राज्यको अर्बौं सम्पतीलाई छुट दिने किसिमले चलखेल नगरोस्। मलाई सबै थाहा छ, मैले बोल्छु नै एकदिन। सरकार विल्कुल गलत बाटो छ,’ उनले भने।

सरकारले विचौलियाको सेवा गरिरहेको बताउँदै प्रचण्डले भने, ‘सरकार नै विचौलियाले बनाइदिएको छ। त्यसैले सरकारले उनीहरूको सेवा त गर्ने नै भयो ।’

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउँदै उनले सरकारले यो विषयमा जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिए । ‘हामीलाई लेखा समितिको सभापति दिनु नै पर्छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिओस्। सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने त्यो दुर्भाग्य हुन्छ,’ प्रचण्डले भने।

प्रचण्डले संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि गर्ने तयारी भए समर्थन गर्ने बताए। उनले संविधान संशोधनको विषयलाई अधिकार कटौती गर्नेगरी दुस्साहस भएको खण्डमा सडकबाटै प्रतिवाद गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्