सोसल मिडिया
युनिकोड
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ।
यतिबेला (बुधबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। कोसी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना छ। कोसी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।