सुवास, सुहाङ र केपी ओलीबीच फागुनको अनौठो संयोग

मंगलबार, वैशाख १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । 

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । 
    
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका छन्। 

सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौँमा भएको थियो । काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किए ।

संयोग कस्तो पारिदियो भने सुहाङ उनका बुबा सुबास र उनको पार्टी अध्यक्ष केपी ओली तीनै जनाको जन्म फागुनमै भएको हो। फागुन ६ गते सुहांग जन्मिएका हुन् भने उनका बुबा सुबास फागुन २९ गते र ओली फागुन ११ गते जन्मिएका हुन्। सुबास २००९ मा जन्मिएका थिए भने ओली २००८ फागुन ११ मा जन्मिएका हुन्। निर्वाचन क्षेत्र खाली गराउने, खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने र जित्ने, उम्मेदवारलाई टिकट दिने र जिताउने तीनै जना एकै महिना फागुनमा जन्मिएका हुन्। 

स्वदेश फर्केर उनले काठमाडौँ स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे  । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । 

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन्  ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका हुन्  । यद्यपि उनी  राजनीतिक गतिविधिबाट भने टाढै रहे । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदान समेत गरेका थिएनन । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादाता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन्।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाए । 

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । 

आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्धा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ । उनी  आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउछन्  । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ । 

हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य छन्  । उनका एक दाजु, एक दिदी र एक बहिनी छन्  । दिदी सुसाङ पेशाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छिन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्