राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सरकारले गर्यो खारेज

बिहीबार, साउन २४, २०८१

सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ। 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने’ निर्णय भएको बताए।

उक्त निर्देशिका खारेज भएसँगै हाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पद नै खारेजीमा परेको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० जेष्ठमा पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। 

मुख्य सचिवबाट अवकाश पाउन ३  महिना मात्रै बाँकी रहेका शंकरदास बैरागीलाई राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको थियो। 

तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बैरागीले सल्लाहकारबाट राजीनामा दिएका थिए। 

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी संघीय ऐन आउन नै बाँकी छ। पुरानो ऐनमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहने व्यवस्था छैन।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्