सुवासको छोराले बर्बादै गर्यो भन्ने पार्दिन भन्दै भावुक भए सुहाङ

मंगलबार, वैशाख १८, २०८१

इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्।

नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक–एक मतको मूल्यांकन हुने गरी काम गर्ने बताए।

उनले भने, ‘म एकदमै हर्षित पनि छु। अलिअलि भावुक पनि भएको छ। यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ, धेरै बोल्न चाहन्न। म के वाचा गर्न चाहन्छु भने तपाईंहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एक–एक मत, सुरक्षित राख्नुभएको एक– एक मतको मूल्यांकन नै गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु। मैले बुवाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु। तपाईहरुलाई कहिल्यै पनि संकोच हुन नदिने छैन। तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन।’

नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए। संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका छोरा सुहाङलाई उम्मेदवार बनाएको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्