निजामति कर्मचारी सरह शिक्षकलाई तलब सुविधा दिन सांसदको माग, सभामुख पनि सकारात्मक

शुक्रबार, साउन २५, २०८१

‘विद्यालय शिक्षा विधेयक-२०८०’ माथिको छलफल जारी छ। प्रतिनिधिसभाअन्तर्गतकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमानियमितजसाे विधेयकका दफा केलाउने क्रम जारी छ। 

संशाेधनकर्ता सांसदहरूले बालबालिकालाई सरकारले दिने दिवा खाजादेखि शिक्षककाे तलबसम्म विषय प्रवेश गराएका छन्। विधेयकमा १६३ दफा छन्। विधेयकमा १५२ जना सांसदले एक हजार सात सय ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। धेरै जसो संशोधन प्रस्तावमा शिक्षकको तलबका कुराले ठाउँ पाएको बुझिएको छ। 

सांसद किसान श्रेष्ठले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने मत जाहेर गर्दै तलब पनि बढाउनु पर्नेमा जोड दिएका छन्। 

निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठकाे कार्यशैलीलाई लक्षित गर्दै किसानले शिक्षकलाई अपमान नगर्न पनि आग्रह गरे। सुमनाले आफू मन्त्री हुँदा शिक्षकले राजनीति गरेकाे भन्दै कारबाही गरेकी थिइन्।

सांसद किसानले समिति बैठकमा भने, ‘कक्षामा असरमा नपर्ने गरी राजनीति गर्न दिनुपर्छ। शिक्षकले गरेको राजनीतिले कक्षामा प्रभाव पर्दैन भने उसलाई राजनीति गर्न किन रोक्ने?

त्यसैगरी किसानले  शिक्षकलाई पर्याप्त सुविधा दिने व्यवस्था कानुनमै राख्नुपर्ने बताए। उनले भने,‘सेवासुविधा निजामती कर्मचारीको भन्दा बढी दिउँ, बिशिष्ट सेवाको पनि व्यवस्था गरौँ।’

समिति बैठकमा अर्का सांसद प्रेम सुवालले विद्यालय तहको पाठ्यक्रममै कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिंक्स र जंकफुड खान नहुने सन्देश राख्नुपर्ने मत राखे। ‘पाठ्यक्रममा कोक फ्यान्टा, जंकफुड खानु हुँदैन भनेर विधेयकमा लेखिनुपर्छ,’ बैठकमा उनले भने।

 शिक्षक हुनेलाई सम्मान नभएको र निजामती कर्मचारीको भन्दा कम तलब भएकोले त्यसलाई सच्च्याउनु पर्नेमा साम्सदले जोड दिएका छन्। सभामुख देवराज घिमिरे समेतले शिक्षकको तलब बढाएर निजामति सरहको सुविधा दिनुपर्ने कुरा आफू संग गरेको एक साम्सदले बताए। सभामुख घिमिरे पत्नी टिका बस्नेत घिमिरे पनि शिक्षक बाट अवकाश लिएकी हुन्। 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्