भारत र चीनको रोजाईमा आफैं रहेको भन्दै प्रचण्डले अमेरिकालाई दिए दोष

शनिबार, साउन २६, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात समुद्रपारिबाट नयाँ सरकार बनाइएको दाबी गरेका छन् ।

शुक्रवारको पार्टी पदाधिकारी बैठक र शनिबारको स्थायी कमिटी बैठकमा प्रचण्डले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन छिमेकी नभई सात समुद्रपारिको शक्ति हाबी भएको दाबी गरेका हुन् ।

गत असार १७ मा नयाँ गठबन्धन बन्नुमा अमेरिकाको हात रहेको उनको संकेत थियो । प्रचण्डले नयाँ सरकारलाई भारत र चीनले नरुचाएको समेत दाबी गरे । भारत र चीन आफ्नो सरकारको पक्षमा रहेको ठहर गर्दै अमेरिकाको चलखेलले सरकार छोड्नु परेको घुमाउरो तर्क प्रचण्डले राखेका छन्। 

‘मैले केही कुरामा अडान लिएपछि नेपालमा हठात् सरकार परिवर्तनको खेल भयो, यो यहाँ विकसित भएको घटनाक्रम होइन सात समुद्रपारिबाट सब भएको हो’ प्रचण्डको भनाई उदृत गर्दै माओवादी स्रोतले भन्यो । 

यसअघि उनले भ्रष्टाचारका फाइल खोलेपछि रातारात सरकार ढालिएको बताउँदै आएका थिए । प्रचण्डले बंगलादेशमा भएको सरकार परिवर्तन गर्ने आन्दोलनले नेपालको सत्ता गठबन्धन समेत डराएको दाबी गरेका थिए ।

नयाँ गठबन्धनले जनताको पक्षमा काम गर्न नसक्ने र फेरि आन्दोलन उनले समेत उनले दाबी गरे । ‘नेपालमा पनि केही समयमा आन्दोलन उठ्छ र त्यसको नेतृत्व माओवादीले गर्छ’ बैठक स्रोतलाई उद्धृत गर्दै एक नेताले भने । यसैगरी उनले बङ्गलादेशको घटनाका कारण सरकार डराएको समेत जिकिर गरे ।

बैठकमा प्रचण्डले वृहत् वामपन्थी एकताको प्रस्ताव राखेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एस, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र बाबुराम भट्टराईबाट छुट्टिएको गंगानारायण श्रेष्ठ समूहसँग कार्यगत एकताको कुरा भइरहेको उनले बताए । ‘समाजवादी शक्तिहरूबिच संयुक्त मोर्चा बनाएर पार्टी एकतासम्म पुग्ने लक्ष्य छ’ उनले भने । शनिवारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन, सचिव गणेश साह तथा स्थायी कमिटी सदस्य गणेशमान पुनले बोलेका छन् । बैठक आइतबार पुनः बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्