जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि

आइतबार, साउन २७, २०८१

जनता समाजवादी पार्टी (जसपा), नेपालको नवगठित केन्द्रीय समितिको बैठक आइतबार (आज)देखि सुरु हुँदै छ । आउँदो साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै, पहिचान र राष्ट्रियरजातीय मुक्तिको सबाल, समाजवादसम्बन्धी अवधारणा, जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्‌मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल गरिने जनाइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू) सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श गरिने अध्यक्ष यादवले बताए ।

बैठकबाट अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गरिने र केन्द्रीय सदस्यहरूलाई जिल्ला/महानगर/नगरलगायत स्थानीय तहहरूको अभियन्ताका रूपमा जिम्मेवारी दिइने जनाइएको छ । केन्द्रीय समितिको बैठक ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा बस्नेछ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्