भदौ नलागी कोशीले आकार नलिने मुख्यमन्त्रीको भनाई

आइतबार, साउन २७, २०८१

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भदौ महिना लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले भने, “नेपाली कांग्रेसले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री टुंगो लगाएपछि सरकार विस्तार हुन्छ ।”

उनले कोसी सरकारको अधिकतम मन्त्रालय संख्या ११ रहने बताए । तत्काल मन्त्रालय संख्या नबढाउने उनले सुनाए । कोसीमा हाल नौ मन्त्रालय छन्  । नेकपा (एमाले)ले पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको उनले जानकारी गराए ।

प्रदेशसभा बैठक नियमित हुने भन्दै उनले आउँदो दसैँसम्म संशोधनसहित सात विधेयक पारित गर्ने लक्ष्य रहेको बताए । उनले भने, “संसद् चल्छ ।  सातवटाजति कानुन निर्माण गर्ने लक्ष्य छ । अब सरकारले बिजनेस दिन्छ ।”

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्