शेखर बोल्दा बोल्दै देउवालाई पोल्यो 

आइतबार, साउन २७, २०८१

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले धारणा राख्दैगर्दा सभापति शेरबहादुर देउवाले बीचैमा प्रतिवाद गरेका छन् ।

आइतबारको बैठकमा डा. कोइरालाले लिखित धारणा राख्दैगर्दा महाधिवेशन सार्ने प्रयास नगर्न चेतावनी दिएपछि सभापति देउवाले प्रतिवाद गरेका हुन् ।

मंसिर २०७८ मा १४ औँ महाधिवेशन भएकोले विधानअनुसार चार वर्षको अन्तरालमा मंसिर २०८२मा १५औँ महाधिवेशन सुनिश्चित हुनुपर्ने बताउँदै कोइरालाले भनेका थिए, ‘कांग्रेसको १५औँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । विधान र नियमावली संशोधनका लगि अविलम्ब समिति बनाऔँ । २०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् ।’

यो वा त्यो बाहनामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने शेखरले बताउँदै गर्दा सभापति देउवा तत्कालै प्रतिकार गरेका थिए । कल्ले ढिला गर्‍यो … कल्ले ढिला गर्‍यो, कल्ले ढिला गर्‍या छ भनेर सभापति कड्किए । यसो भन्दा सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू हासेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवाले यसो भनेपछि शेखरले ‘म भन्दै छु । मैले केही भनेको भए माफी पाउँ भन्नुभयो,’ ती नेताले भने । देउवा भने रोकिएनन् । ‘को महाधिवेशन लम्ब्याउन लागेको छ…. गर्ने भन्या छ । गर्ने भन्या छ… भनेर माइकमा भनेको भनेइ गर्नुभयो,’ ती केन्द्रीय सदस्यले भने ।

कोइरालाले यो वा त्यो बाहनामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने बताएका थिए ।

बैठक भोलि पनि जारी रहने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्